काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार देशभर साधारणतया बादल लाग्नुका साथै अधिकांश भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाद्वारा जारी विशेष मौसम बुलेटिनअनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि मौसम प्रतिकूल नै रहने पूर्वानुमान गरिएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराईका धेरै ठाउँहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। भारी वर्षाका कारण पहाडी भू–भागमा पहिरो तथा तराईका नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न मौसमविद्हरूले सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेका छन्।





