एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक आज सकिँदै, प्रतिवेदन एकीकृत गरिँदै

काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको दुई दिनदेखि काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा जारी आवासीय बैठक आज (सोमबार) सम्पन्न हुँदैछ। पार्टीको सांगठनिक पुनर्संरचना, चुनावी परिणामको गम्भीर समीक्षा र आगामी कार्यदिशा तय गर्न कार्यदलका शीर्ष नेताहरू घनिभूत छलफलमा जुटेका हुन्।

बैठकमा कार्यदलका संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव एवं महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका फरक-फरक दृष्टिकोणसहितका दुई प्रतिवेदनलाई समेटेर एउटै साझा दस्ताबेज बनाउने प्रयास भइरहेको छ। पार्टी पुनर्गठन र नेतृत्वको विषयमा नेताहरूबिच केही मतभेद देखिए पनि कार्यकर्ताको भावना र पार्टी एकतालाई दृष्टिगत गर्दै दुवै पक्षका महत्त्वपूर्ण सुझावहरूलाई संश्लेषण गरी एकीकृत प्रतिवेदन तयार पार्न लागिएको कार्यदलले जनाएको छ।

कार्यदल सदस्य तथा एमाले सचिव डा. राजन भट्टराईका अनुसार बैठकले आज बेलुकासम्ममा सर्वसम्मत वा बहुमतीय आधारमा एकीकृत प्रतिवेदनलाई अन्तिम रूप दिनेछ। तयार भएको प्रतिवेदन चाँडै पार्टी सचिवालय र केन्द्रीय कमिटी बैठकमा पेस गरिने र सोही प्रतिवेदनका आधारमा एमालेले आगामी सांगठनिक रूपान्तरण तथा चुनावी रणनीतिको ठोस मार्गचित्र सार्वजनिक गर्ने बताइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा