काठमाडौँ । देशको मौसम प्रणालीमा फेरबदल आउने क्रम सुरु भएको छ। हाल पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै भोलि बिहीवारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब”को प्रभावसमेत पर्ने देखिएको छ। आज रातीदेखि नै देशका विभिन्न भू-भागमा आंशिकदेखि साधारणतया बदली भई वर्षा र हिमपातको सम्भावना सुरु हुनेछ भने भोलि बिहीवारबाट मौसमी प्रणाली थप सक्रिय बन्नेछ।
भोलि दिउँसो र रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा बादल बाक्लो बन्नेछ। विशेषगरी भोलि रातीबाट कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको तीव्र सम्भावना रहेको छ। आगामी केही दिनसम्म यो प्रणाली झन् व्यापक बन्दै जाने महाशाखाले जनाएको छ।
यस मौसमी प्रणालीले आगामी शनिबारसम्मै देशका अधिकांश भू-भागमा असर पार्ने देखिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा तथा हिमपातको जोखिम रहेको छ। तसर्थ, पाकेको धानबाली भित्र्याउने लगायतका सम्पूर्ण कृषि कार्यहरू बिहीबारअघि नै सम्पन्न गरिसक्न किसानहरूलाई विशेष आग्रह गरिएको छ।
अत्यधिक वर्षा, हिमपात, हिमआँधी र पहिरोको उच्च जोखिम रहने हुनाले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूलाई पूर्ण रूपमा नजान र सुरक्षित स्थानमा रहन अपिल गरिएको छ। साथै, चिसो बढ्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने तथा तराई र पहाडका जोखिमयुक्त क्षेत्रमा पहिरो जान सक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकाय सबैलाई उच्च सतर्कता अपनाउन र पूर्वतयारीमा रहन सुझाव दिइएको छ।





