काठमाडौँ । धितोपत्र दोस्रो बजारमा बिहीबार पनि उत्साहजनक हरियाली छाएको छ। वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताहरू ओइरिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ भने कारोबार रकमले पनि नयाँ उचाइ लिएको छ।
बिहीबार कारोबार समयभरिको उतारचढावबीच नेप्से परिसूचक ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर २,६९५.६० विन्दुमा पुगेर बन्द भएको छ। यो वृद्धिसँगै नेप्से २,७०० को मनोवैज्ञानिक विन्दु नजिक पुगेको छ। परिसूचकसँगै आज कारोबार रकममा पनि ठुलो छलाङ आएको छ। दिनभरिमा कुल ३५० वटा स्क्रिप्सका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर ६९ हजार ६१९ पटक किनबेच हुँदा कुल ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज १ अर्ब १२ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो।
आजको बजारमा अधिकांश कम्पनीहरूको सेयर मूल्य उकालो लागेको छ। कुल १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। वित्तीय प्रणालीमा अधिक तरलता र न्यून ब्याजदरका कारण लगानीकर्ताहरू दोस्रो बजारतर्फ थप आकर्षित भएका हुन्।
समूहगत परिसूचक हेर्दा आज बजारको मुख्य हिस्सा ओगट्ने बैंकिङ समूहले अग्रता लिएको छ। बैंकिङ उपसमूहमा आज सर्वाधिक २.२८ प्रतिशतको उच्च वृद्धि दर्ता भएको छ। त्यसैगरी, होटल तथा पर्यटन र अन्य समूहमा समान २.०५ प्रतिशत, फाइनान्स समूहमा १.६९ प्रतिशत र विकास बैंक समूहमा १.५५ प्रतिशतको वृद्धि देखिएको छ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर ३५ करोड ६१ लाख ६८ हजार रुपैयाँको सेयर किनबेचसहित शीर्ष स्थानमा रह्यो। वाणिज्य बैंकहरूतर्फ सिद्धार्थ बैंकको २५ करोड ३८ लाख, लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख तथा कुमारी बैंकको २३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज बेनी हाइड्रोपावरका लगानीकर्ताले १५ प्रतिशत, स्वाभिमान लघुवित्तले ८.७२ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीले ५.६१ प्रतिशत नाफा कमाएका छन्।





