काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार सुनसँगै यसको प्रति १० ग्रामको मूल्यमा पनि सोही अनुपातमा गिरावट आएको छ । आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ कायम गरिएको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण घरेलु बजारमा पनि सुनको मूल्य प्रभावित भएको व्यवसायीहरू बताउँछन् ।
यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि आइतबार प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९६१ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।




