काठमाडौँ । नेकपा (एमाले) ले आगामी असोज ३ गते संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। संविधान दिवसको पूर्वतयारीका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा महासचिव शङ्कर पोखरेलले बोलाएको बैठकले नेपालको संविधान २०७२ को रक्षा र कार्यान्वयनको सन्देशसहित विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार असोज ३ गते बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने उक्त विशेष कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ।
संविधान दिवसका अवसरमा देशभर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्न एमालेले सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई स्थानीय विशेषता र आवश्यकताअनुसार प्रभावकारी कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ। यसैगरी, विद्यार्थी सङ्गठन तथा ट्रेड युनियनलगायत पार्टी सम्बद्ध जनसङ्गठनहरूले पनि आफ्ना मौलिक नारासहित विभिन्न कार्यक्रम गर्ने भएका छन्। संविधानको रक्षा, संवैधानिक व्यवस्थाको सुदृढीकरण तथा संविधानप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले दिवसलाई व्यापक रूपमा मनाउन लागिएको एमालेले जनाएको छ।





