काठमाडौँ । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना गरेको छ । पछिल्लो समय बढ्दो जलवायु परिवर्तन र यसले पारेको बहुआयामिक असरलाई मध्यनजर गर्दै मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा यो शाखा स्थापना गर्ने निर्णय गरिएको हो । संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने यस नयाँ शाखाको नेतृत्व उपसचिवले गर्ने व्यवस्था गरिएको छ ।
नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर रूपमा सक्रिय सहभागिता जनाउँदै आएको छ । परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको वातावरण कूटनीति शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलहरूमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग नीतिगत समन्वय गर्ने जिम्मेवारी पाएको छ । यसबाट नेपालको जलवायु एजेन्डालाई विश्व समुदायमा थप समन्वित र प्रभावकारी रूपमा उठाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागिता जनाउने औपचारिकतामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । उनले मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर तत्कालका लागि शाखामार्फत काम अघि बढाइएको र भविष्यमा कार्यबोझका आधारमा संस्थागत संरचनालाई थप सुदृढ बनाइने स्पष्ट पारे । जलवायुजन्य विपद् र जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग र स्रोत जुटाउन नियमित कूटनीतिक पहल आवश्यक रहेको मन्त्री खनालको भनाइ छ ।





