आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष विधिवत् सुरु: दिवङ्गत पितृको स्मरणमा तर्पण र पिण्डदान गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि देशभर विधिवत् रूपमा सुरु भएको छ। वैदिक सनातन परम्पराअनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृहरूको स्मरण गर्दै तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध वा पितृ पक्ष भनिएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।

समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको श्राद्ध तथा पिण्डदान अपराह्नकाल पारेर गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। सोह्र श्राद्ध आफ्ना पिताको मृत्यु भएको तिथिमा गर्नुपर्ने विधान छ। कुनै कारणवश तोकिएको तिथिमा श्राद्ध रोकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म, कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजा) वा मङ्सिरको वृश्चिक सङ्क्रान्तिसम्म पनि जुराएर गर्न सकिने शास्त्रीय विकल्प ‘धर्मसिन्धु’लगायतका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुने गर्दछ। ठूला चाडपर्व वा उत्सव मनाउनुअघि पितृहरूलाई तृप्त गराउने उद्देश्यले दसैँअघि सोह्र श्राद्ध गर्ने धार्मिक विश्वास छ। यस वर्ष गत जेठ महिनामा अधिकमास (मलमास) परेका कारण सोह्र श्राद्ध र बडादसैँ पर्व केही दिन पछाडि सरेको हो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा