म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको बेनी–जोमसोम–कोरला सडक आगामी सोमबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । असोज दोस्रो साताको अविरल वर्षा र बाढीपहिरोले विभिन्न ५० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै १० ठाउँमा कालीगण्डकी नदीको कटानले २०२ किलोमिटर लामो सडक क्षतविक्षत बनेको थियो । हाल मर्मत कार्य अन्तिम चरणमा पुगेको र आइतबारसम्म सबै अवरोध हटाएर सोमबारदेखि नियमित सवारी आवागमन खुला गर्ने कार्ययोजना बनाइएको छ ।
म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटरभन्दा बढी क्षेत्र प्रभावित भएकोमा प्रारम्भिक मर्मतपछि बिहीबार साँझदेखि इन्धन, एम्बुलेन्स, राहत सामग्री ढुवानी र अत्यावश्यक सवारीसाधनलाई एकतर्फी रूपमा वारपार गराइएको छ । सडकमा बाँकी रहेको पहिरो पन्छाउने, भासिएको र कटान भएको ठाउँमा फिलिङ गर्ने, लेवल मिलाउने तथा क्रसिङ बनाउने कार्य तीव्र रूपमा भइरहेको छ । हाल कोरलानाकाबाट भन्सार जाँचपास भएर आएका ५०० भन्दा बढी मालवाहक कन्टेनर तथा मुस्ताङबाट स्याउ र आलु बोकेका गाडीहरू गन्तव्यमा पुग्न प्रतीक्षा गरिरहेका छन् ।
सडक पूर्ण रूपमा सहज नहुँदासम्म अत्यावश्यक सेवा, ढुवानी र स्थानीय आन्तरिक यातायातलाई प्राथमिकता दिइने प्रशासनले जनाएको छ । मुस्ताङ भ्रमणमा आउने पर्यटकहरूलाई सडकको अवस्था सामान्य नहुँदासम्म केही दिन यात्रा योजना पछि सार्न आग्रह गरिएको छ । म्याग्दी र मुस्ताङ जिल्ला सुरक्षा समितिको संयुक्त पहलमा साँघुरा तथा जोखिमयुक्त ठाउँमा सुरक्षाकर्मी परिचालन गरी ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने भएको छ ।





