काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको अवधिमा सबैभन्दा धेरै नागढुंगा नाकाबाट २७ हजार ६४९ र भक्तपुरबाट २० हजार ६१५ जना बाहिरिएका छन् । फर्पिङ, तीनपिप्ले, भट्टेडाँडा, साँखुलगायत नाकाबाट पनि हजारौँ यात्रु बाहिरिएका छन् ।
राजधानीमा अध्ययन, रोजगारी र व्यवसायमा रहेका मानिस घर फर्किन थालेपछि सार्वजनिक यातायातमा चाप बढेको छ । सडक बिग्रिएका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको व्यवसायी बताउँछन् । यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भाडा तिर्न आग्रह गरिएको छ ।





