विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, विपद् व्यवस्थापन सत्रलाई सम्बोधन गर्ने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। नेपालको समष्टिगत आर्थिक स्थिति, बाह्य क्षेत्रको स्थायित्व र थप विकास सहायताको सम्भावनाबारे अन्तर्राष्ट्रिय मञ्चमा पैरवी गर्न उनको यो भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ।

अर्थमन्त्री वाग्लेको नेतृत्वमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र सहसचिव अमृत लम्साल पनि सहभागी छन्। यस भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले विभिन्न उच्चस्तरीय प्लेनरी सत्र, मन्त्रीस्तरीय गोलमेच सम्मेलन तथा महत्वपूर्ण द्विपक्षीय वार्ताहरूमा मुलुकको दृढ प्रतिनिधित्व गर्नेछ।

बैठकको सिलसिलामा अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का प्रबन्ध निर्देशक, विश्व बैंकका सञ्चालन प्रबन्ध निर्देशक र एसियाली विकास बैंक (ADB) का अध्यक्षसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्नेछन्। साथै, सन् २०२७ मा जी-२० को अध्यक्षता ग्रहण गर्न लागेको बेलायतका विदेश मन्त्रीसँग पनि द्विपक्षीय भेटघाट गर्ने कार्यतालिका तय भएको छ।

यसपटकको बैठकमा नेपालले जलवायु परिवर्तन र यसले अर्थतन्त्रमा पारेको असरलाई प्रमुख मुद्दा बनाउने भएको छ। विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै प्राकृतिक प्रकोप र चरम मौसमी घटनाहरूको पूर्वतयारी सम्बन्धी विशेष सत्रमा अर्थमन्त्री वाग्लेले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा