वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका कतिपय आर्थिक तथा कूटनीतिक प्रतिबन्धहरू तत्कालका लागि निलम्बन गरेका छन् । मस्कोलाई युक्रेन युद्ध अन्त्यसम्बन्धी शान्ति वार्ताको टेबलमा कायम राख्ने रणनीतिअन्तर्गत यस्तो निर्णय लिइएको ट्रम्पले दाबी गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले आफू रुस र युक्रेनबीच शान्ति सम्झौता गराउने प्रयासमा रहेको र रुसलाई वार्ता प्रक्रियाबाट विमुख गराउने कुनै पनि कदम चाल्न नचाहेको उल्लेख गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि प्रतिबन्ध फुकुवालाई ६० दिने अस्थायी विश्राम भन्दै यस अवधिमा विश्व र अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभावको मूल्याङ्कन गरिने स्पष्ट पारेका छन् ।
यता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने ट्रम्पको यस कदमको कडा शब्दमा आलोचना गरेका छन् । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्ष लिनु वासिङ्टनका लागि ऐतिहासिक गल्ती साबित हुने चेतावनी दिएका छन् । उनले पुटिनले वास्तविक शान्ति नचाहेको र अमेरिकी निर्णयले मस्कोलाई थप हौसला मिल्ने जिकिर गरे ।
यसअघि ऊर्जा संकट समाधान गर्न अमेरिकाले रुसी डिजेल आयात गर्ने तयारी गरेपछि वासिङ्टन र किएभबीच कूटनीतिक दूरी बढेको थियो । त्यसैगरी युक्रेनमा सञ्चालित स्टारलिंक इन्टरनेट सेवाको गति सुस्त भएको विषयमा समेत विवाद देखिएको छ । ट्रम्पले युक्रेनी राष्ट्रपतिले सम्झौताको अवसर गुमाएको आरोप लगाएका छन् भने जेलेन्स्कीले आफ्नो सार्वभौमसत्तासँग सम्झौता नगर्ने अडान दोहोर्याएका छन् ।





