काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ ।
क्यानका सचिव पारस खड्काले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको टिकट मूल्य निर्धारण गरिएको जानकारी दिएका हुन् ।
क्यानका अनुसार लिग चरणका खेलका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतियोगिताको टिकट आज राति ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ ।





