वर्षमा एक दिन मात्र खुल्ने ऐतिहासिक तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ । बडादशैँको महानवमीका अवसरमा ऐतिहासिक एवं पुरातात्विक महत्वको तलेजु भवानीको मन्दिर आज बिहानैदेखि सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । काठमाडौँको हनुमानढोका दरबार क्षेत्रभित्र अवस्थित वर्षमा एक पटक मात्रै खुल्ने यस पवित्र मन्दिरमा बिहान ५ बजेदेखि नै दर्शनार्थीहरूको उल्लेख्य भीड लागेको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार वर्षको ३६४ दिन सर्वसाधारणका लागि बन्द रहने यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र विशेष पूजाआजासहित सर्वसाधारणका लागि खुला गर्ने प्राचीन परम्परा रहिआएको छ । आज बेलुकी ६ बजेसम्म भक्तजनले मन्दिर परिसरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर धार्मिक, ऐतिहासिक एवं नेवार सांस्कृतिक परम्पराका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको साइतअनुसार महाअष्टमीको मध्यरातमा मूलचोकमा तान्त्रिक विधिद्वारा कालरात्रि पूजा सम्पन्न गरी ५४ बोका र ५४ राँगाको परम्परागत बलि समेत दिइएको थियो ।

विजयादशमीसम्म तुलजा भवानीलाई मूलचोकमै राखेर विशेष तान्त्रिक विधिबाट नित्य पूजाआराधना गरिनेछ । भोलि बुधबार विजयादशमीका दिन बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा देवीको विसर्जन यात्रा गराई ११ बजेर ५२ मिनेटमा मूल मन्दिरमा पुनः स्थिरासन गराएसँगै यस वर्षको विशेष पूजा समापन हुनेछ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा