साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा, सबै स्वीकृत

काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेयता हालसम्म चार जना विशिष्ट श्रेणीका सचिवसहित ४६४ जना निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित दुवै श्रेणीका गरी सो सङ्ख्यामा कर्मचारीहरूले राजीनामा बुझाएका हुन् ।

किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेहरूमा राजपत्राङ्किततर्फ २०७ जना र राजपत्र अनङ्किततर्फ २५७ जना कर्मचारी रहेका छन् । राजपत्राङ्कित कर्मचारीमध्ये ४ जना सचिव, ३३ जना सहसचिव, ७२ जना उपसचिव र ९८ जना शाखा अधिकृत तहका अधिकृतहरू रहेका छन् ।

यसैगरी राजपत्र अनङ्कित कर्मचारीतर्फ १३७ जना नायब सुब्बा तथा खरिदार तहका र १२० जना श्रेणीविहीन कर्मचारीहरूले राजीनामा दिएको किताबखानाले जनाएको छ । राजीनामा दिएका सबै कर्मचारीहरूको राजीनामा सरकारद्वारा स्वीकृत भइसकेको छ ।

सरकारले प्रतिनिधि सभामा दर्ता गराएको ‘संघीय निजामती सेवा विधेयक’ मा ऐन प्रारम्भ हुँदाका बखत ३० वर्षे सेवा अवधि वा ५५ वर्ष उमेर हदका कारण कर्मचारीले अनिवार्य अवकाश पाउने प्रावधान प्रस्ताव गरिएको छ । उक्त बाध्यात्मक व्यवस्था लागू हुनुपूर्व नै उपदान तथा पेन्सन सुविधा सुरक्षित गर्ने उद्देश्यले कर्मचारीहरूले धमाधम राजीनामा दिएको बताइएको छ ।

यद्यपि कर्मचारीहरूले आफ्नो राजीनामा पत्रमा भने व्यक्तिगत तथा ‘घरायसी कारण’ खुलाउने गरेका छन् । उच्च तहका अनुभवी सचिव तथा सहसचिव तहकै कर्मचारीहरूले एकसाथ राजीनामा दिँदा प्रशासनिक नेतृत्व र कार्यसम्पादनमा समेत असर पर्न सक्ने देखिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा