काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेष तथा पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशको मौसममा अचानक ठूलो फेरबदल आएको छ। हाल सक्रिय रहेको यस मौसमी प्रणालीका कारण आगामी केही दिनसम्म देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारणतया बदली रही विभिन्न स्थानमा वर्षा र हिमपातको क्रम सुरु भएको छ। भोलि अपराह्नदेखि भने यस प्रणालीको प्रभाव क्रमिक रूपमा कम हुँदै जाने प्रक्षेपण गरिएको छ।
यस प्रणालीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी, मधेश र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी हिमपात र वर्षाको अत्यधिक जोखिम रहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भेगमा पनि मध्यम हिमपातको सम्भावना कायम छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हल्का वर्षा हुन सक्नेछ।
धानबाली भित्र्याउने बेला भएकाले कृषि कार्य गर्नुअघि मौसमको अवस्था बुझ्न किसानहरूलाई विशेष आग्रह गरिएको छ। उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमआँधी, हिमपहिरो र पहिरो जाने जोखिम रहेकाले पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सचेत गराइएको छ। यस मौसमी गडबडीले सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।




