आगामी स्थानीय तहको निर्वाचनले निर्धारण गर्नेछ एमाले र नेकपाबिचको एकताको भविष्य

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसहित सबै वामपन्थी घटकहरूलाई एकता प्रक्रियामा सामेल हुन आह्वान गर्नुभएको छ । २७ वटा वामपन्थी घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीलाई अझ फराकिलो बनाउँदै सम्पूर्ण कम्युनिस्ट शक्तिहरूलाई एउटै छातामुनि गोलबन्द गर्ने प्रयास तीव्र पारिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिको उदयपछि सत्ताबाट बाहिरिएका एमाले र नेकपाबिच गत साउन ९ गते प्रदेश सरकार तथा स्थानीय तहमा सहकार्य गर्ने सहमति भएको थियो । सोही सहकार्य आगामी स्थानीय तह निर्वाचनसम्म निरन्तर रहने र त्यसको परिणामले पार्टी एकताको दिशा तय गर्ने बताइएको छ ।

तत्काल एकता होइन, चुनावी तालमेल प्राथमिकतामा :
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार वर्तमान अवस्थामा एमालेसँग हतारमा पार्टी एकता गरिहाल्ने कुनै सम्भावना छैन । “राष्ट्रिय मुद्दा र वाम सहकार्यको नीति अन्तर्गत अहिले एमालेसँग सत्ता र आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो,” ज्वालाले भन्नुभयो, “स्थानीय तहको चुनावी नतिजा राम्रो आएमा र आपसी विश्वासको धरातल बनेमा मात्र एमालेसँग पार्टी एकताको प्रक्रिया अघि बढ्न सक्छ ।”

यसैबिच, एमाले सचिव महेश बस्नेतले पनि मुलुकको विषम राजनीतिक परिस्थिति र संस्थागत स्थायित्वका लागि राष्ट्रिय शक्तिहरूबिच साझा दृष्टिकोण बन्नु सकारात्मक भएको बताउनुभएको छ । विगत २०७५ सालको पार्टी एकता र तीन वर्षमै भएको विघटनको तीतो अनुभवबाट पाठ सिक्दै यसपटक दुवै दलले हतार नगरी चरणबद्ध सहकार्यको बाटो रोजेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा