काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पशुपन्छी तथा सम्पूर्ण प्राणी जगत्प्रतिको प्रेम र आत्मीयता नेपाली चाडपर्वहरूको सबैभन्दा सुन्दर र मौलिक पाटो भएको बताएका छन्। तिहार अर्थात् यमपञ्चक, काग तिहार, धन्वन्तरी जयन्ती र कुकुर तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले हाम्रा परम्पराहरूले मानव र प्रकृतिबीचको सहअस्तित्वलाई उजागर गरेको उल्लेख गरेका हुन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हाम्रा सांस्कृतिक पर्वहरूले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन तथा जनपक्षीय काम गर्ने प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिएका छन्।
काग तिहार र सञ्चारको प्राचीन विश्वास
यमपञ्चकको पहिलो दिन काग तिहारको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान प्रकट गर्ने मौलिक संस्कृति रहेको स्मरण गराए। उनले प्राचीन कालमा सञ्चारका आधुनिक साधन नहुँदा काग कराउँदा शुभ समाचार वा पाहुनाको आगमन हुने जनविश्वास रहेको चर्चा गरे।
‘घरको आँगनमा काग कराएमा “शुभ बोल, शुभ बोल” भन्दै खबरको प्रतीक्षा गर्ने र “काकेन दधि भक्षितम्” भन्दै दही–भात दिएर यमराजसमक्ष शुभ सन्देश पुर्याउने कामना गर्ने प्रचलन हाम्रो समाजमा छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘यसले हाम्रा पुर्खाहरूको प्रकृति र पशुपन्छीप्रतिको गहिरो लगावलाई स्पष्ट पार्दछ।’
यमराजलाई न्यायको प्रतीकका रूपमा बुझ्नुपर्छ
सन्देशमा प्रधानमन्त्री शाहले यमदीपदान परम्पराको आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै सनातन संस्कृतिले यमराजलाई केवल भयका रूपमा नभई न्याय र विधिको प्रतीकका रूपमा स्थापित गरेको बताएका छन्। दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने यमराजको अवधारणाले हरेक नागरिकलाई सदाचारको मार्गमा डोर्याउने उनको भनाइ छ।
त्यसैगरी, आजै परेको धन्वन्तरी जयन्तीको स्मरण गर्दै उनले समुद्र मन्थनबाट अमृत कलशसहित प्रकट भएका आयुर्वेदका प्रवर्तक एवं आरोग्यका देवता भगवान् धन्वन्तरीको आराधनाले सम्पूर्ण नेपालीलाई निरोगी र स्वस्थ जीवन प्रदान गरोस् भनी कामना गरेका छन्।
कुकुरप्रतिको कृतज्ञता र सुशासनको संकल्प
मानव सभ्यताको सबैभन्दा विश्वासिलो, निष्ठावान् र बफादार साथीका रूपमा कुकुरको योगदानको चर्चा गर्दै प्रधानमन्त्री शाहले घरको रखवारीदेखि अपराध अनुसन्धान र विपद्मा उद्धारसम्म कुकुरको भूमिका अतुलनीय रहेको उल्लेख गरे। उनले पशुपन्छीप्रतिको सम्मानले प्राणी जगत्प्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
‘यी महान् चाडपर्वहरूले हामी सबैलाई सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने दृढ प्रेरणा प्रदान गरून्,’ प्रधानमन्त्री शाहले शुभकामना सन्देशको अन्त्यमा भनेका छन्।





