काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । लिग चरणको रोमाञ्चक मोडमा पुगेको प्रतियोगितामा आज हुने खेलहरूले प्लेअफ समीकरणमा ठूलो प्रभाव पार्ने देखिएको छ । दिनको पहिलो खेलमा दिउँसो १२:३० बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साँझ ५:०० बजे चितवन राइनोज र काठमाण्डु गोर्खाज आमनेसामने हुनेछन् ।
पहिलो खेलमा मैदान उत्रिँदा कर्णाली याक्स प्लेअफको दाबेदारी थप बलियो बनाउने दाउमा छ । हालसम्म चार खेलमध्ये दुई जित र दुई हारसहित चार अंक जोडेको कर्णाली अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । अर्कोतर्फ, पोखरा एभेन्जर्सका लागि भने आजको खेल ‘गर या मर’ को स्थितिमा छ । प्रतियोगितामा खेलिएका चारवटै खेलमा पराजय भोगेको पोखरा अंकविहीन हुँदै पुछारमा छ । प्लेअफको गणितीय सम्भावना कायमै राख्न पोखरालाई आजको खेलमा जित दर्ता गर्नैपर्ने दबाब छ । विगतका संस्करणमा यी दुई टोलीले एकापसमा एक–एक जित निकालेका कारण आजको प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ ।
साँझ ५ बजे फ्लडलाइटमा हुने दोस्रो खेलमा बलियो लयमा देखिएका दुई टोली चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच कडा भिडन्त हुनेछ । काठमाण्डु गोर्खाजले पछिल्ला तीन खेल लगातार जित्दै उच्च मनोबल बनाएको छ । चार खेलबाट तीन जितसहित ६ अंक जोडेको काठमाण्डु दोस्रो स्थानमा छ र आजको जितले टोलीलाई प्लेअफको नजिक पुर्याउनेछ । उता चितवन राइनोज चार खेलबाट दुई जित र एक नतिजाविहीन खेलसहित पाँच अंक बटुलेर चौथो स्थानमा छ । चितवनले जित हात पारे शीर्ष स्थानका टोलीहरूलाई कडा चुनौती दिँदै अंकतालिकामा फड्को मार्नेछ । घरेलु मैदानमा दर्शकहरूको बाक्लो उपस्थितिका बीच दुवै खेलले क्रिकेटप्रेमीहरूलाई रोमाञ्चक मनोरञ्जन दिलाउने विश्वास गरिएको छ ।





