काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ परेका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका आरोपितलाई काठमाडौँ जिल्ला अदालतले बिहीबार म्याद थप गरेको हो।
पक्राउ पर्ने अन्य उच्चपदस्थहरूमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्। उनीहरूमाथि वैदेशिक रोजगारीका नाममा युवाहरूबाट गैरकानुनी रूपमा ठूलो रकम असुल गरी मलेसिया पठाउने गिरोहसँग मिलेमतो गरेको गम्भीर आरोप लागेको छ।
सीआईबीका अनुसार नेपाल सरकार र मलेसिया सरकारबिच भएको द्विपक्षीय श्रम समझदारी (एमओयू) विपरीत अधिकार क्षेत्र नाघेर गैरकानुनी रूपमा रकम सङ्कलन गरिएको थियो। सो रकम अमेरिकी डलर र बेलायती पाउन्डमा रूपान्तरण गरी हुन्डी तथा अन्य माध्यमबाट मलेसिया पठाउने विवादास्पद निर्णयमा तत्कालीन मन्त्री र उच्च कर्मचारीहरूको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीको प्रारम्भिक दाबी छ।
राज्यको जिम्मेवार पदमा रहेर पदीय मर्यादा र अधिकारको चरम दुरुपयोग गरी संगठित समूहलाई अनुचित लाभ पुर्याइएको र विदेशी मुद्रा अपचलन गराइएको अभियोगमा सीआईबीले विस्तृत छानबिन गरिरहेको छ। अदालतबाट म्याद थप भएसँगै प्रहरीले अभियुक्तहरूसँग बयान लिने र आर्थिक कारोबारका कागजातहरू परीक्षण गर्ने कार्यलाई तीव्रता दिएको छ।




