एसिया कप राइजिङ स्टार्स : तिलक र कुशाग्रको शतकसँगै भारत ‘ए’ द्वारा नेपालसामु ३३३ रनको विशाल लक्ष्य

काठमाडौँ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी ‘पुरुष एसिया कप राइजिङ स्टार्स २०२६’ अन्तर्गत समूह ‘बी’ को खेलमा भारत ‘ए’ ले नेपालसामु जितका लागि ३३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालविरुद्ध भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३३२ रनको विशाल योगफल खडा गर्‍यो।

सुरुवाती अवस्थामा नेपाली बलरहरूले कसिलो बलिङ गर्दै भारत ‘ए’ लाई दबाबमा राखेका थिए र ४२ रन जोड्दा शीर्ष तीन ब्याटरलाई पवेलियन फर्काएका थिए। तर त्यसपछि क्रिजमा जमेका भारतीय कप्तान तिलक वर्मा र विकेटकिपर कुमार कुशाग्रले चौथो विकेटका लागि २०६ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै टोलीलाई विशाल स्कोरतर्फ डोहोर्‍याए। कुशाग्रले १०२ बलमा ११७ रन तथा वर्माले ११३ बलमा १०७ रनको शतकीय योगदान गरे।

अन्त्यतिर सुर्यांश सेड्गेले मात्र १४ बलमा ४ छक्का र १ चौकासहित आक्रामक अविजित ३६ रन जोडेपछि भारत बलियो स्थितिमा पुगेको थियो। बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र स्पिनर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट हात पारे। दुवैले १०–१० ओभरमा समान ६१ रन खर्चेका थिए। त्यस्तै नन्दन यादवले २ तथा पवन सर्राफले १ विकेट लिए।

यस खेलमार्फत नेपालका तर्फबाट दीपक डुम्रे, लोकेश बम र रशिद खानले ‘लिस्ट ए’ अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्। ३३३ रनको कठिन चुनौती पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालका ब्याटरहरूले सन्तुलित र आक्रामक इनिङ्स खेल्नुपर्ने दबाब रहेको छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा