आनि छोइङ डोल्माको लुम्बिनी विकास कोष उपाध्यक्ष पदको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी चर्चित गायिका आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। सरकारले विधि र कानुनी मापदण्डलाई मिचेर नियुक्ति गरेको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिट निवेदनमा आनि छोइङ डोल्माको नागरिकता सम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा विभिन्न निकायमा विचाराधीन रहेको अवस्थामा पदमा नियुक्त गरिएको विषयलाई मुख्य रूपमा उठाइएको छ। गम्भीर प्रकृतिका कानुनी प्रश्नहरू निरूपण नहुँदै सरकारले विधि तथा प्रक्रिया बाहिर गएर यस्तो संवेदनशील र गरिमामय पदमा नियुक्ति दिनु गैरकानुनी भएको जिकिर निवेदकहरूले गरेका छन्।

अभियानले यसअघि पनि उक्त विवादास्पद नियुक्तिप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई पटक-पटक ध्यानाकर्षण र खबरदारी गर्दै आएको थियो। तर खबरदारी र विरोधका बाबजुद आनि छोइङ डोल्माले लुम्बिनी विकास कोषको कार्यालयमा उपस्थित भई पदभार ग्रहण गरेपछि विधिको शासन कायम गर्न बाध्य भएर न्यायिक ढोका ढकढक्याउनुपरेको निवेदकहरूको भनाइ छ।

सर्वोच्च अदालतमा दायर रिट निवेदनमार्फत उक्त नियुक्तिको सम्पूर्ण कानुनी वैधता परीक्षण गर्न र कानुनको उचित प्रक्रिया सुनिश्चित नभएसम्म कामकाजमा रोक लगाउन माग गरिएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी बोकेको संस्थामा भएको यो नियुक्ति बदर हुनुपर्ने माग रिटमा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा