तत्कालीन आईजीपी दानबहादुर कार्कीको रिटमा सर्वोच्चका न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा सुनुवाइ

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज बुधबार सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले कार्कीको रिटमाथि अन्तिम सुनुवाइका लागि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकेको हो।

यसअघि गत मङ्सिर ७ गते सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा उक्त रिटको पेसी चढेको थियो। तर, नवनियुक्त आईजीपी डा. मनोज केसीले म्याद बुझेको आधिकारिक प्रमाण अदालतमा समयमै पेस हुन नसकेपछि सुनुवाइ प्रक्रिया प्रभावित भई पेसी स्थगित गरिएको थियो।

रिट निवेदक कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई असंवैधानिक रूपमा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको जिकिर गरेका छन्। उनले महानिरीक्षक पदमा आफूलाई यथावत् पुनर्बहाली गर्न र सरकारद्वारा नवनियुक्त महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अदालतसमक्ष माग गरेका छन्।

यसअघि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कानुनी कारण र आधार पेस गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो, जसबारे आजको दुवै पक्षीय बहसपछि अन्तरिम आदेश जारी हुने वा नहुने टुङ्गो लाग्नेछ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा