माघ २ ।पोखरा । बागलुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागलुङकी सांसद विना कुमारी थापा मगर गण्डकी प्रदेशको उपसभामुख बनेकी छन् ।
बुधबार भएको सभामुख निर्वाचनमा उनको पक्षमा ३२ मत प¥यो भने प्रतिस्पर्धी कांग्रेसकी पार्वती तामाङले २६ मतमात्र प्राप्त गरिन् ।
एमाले संसदीय दलको सोमबार बिहान बसेको बैठकले थापा मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनलाई सत्ता गठबन्धनमा रहेको एमालेका २२, माओवादी केन्द्रका ८,राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङले मत दिए ।
२७ सांसद रहेको कांग्रेसका एकजना सांसद अनुपस्थित हुँदा तामाङले २६ मतमा चित्त बुझाइन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका कृष्ण धिताल सभामुख बनिसकेका छन् ।
आजको बैठकको सुरुमा नै गण्डकी प्रदेशसभाले यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।
शोक प्रस्ताव पारित भएपनि प्रदेशसभा बसेको १५ दिनभित्र उपसभामुख चयन गरिसक्नुपर्ने प्रावधानका कारण संसद भने कार्यसूचीमा प्रवेश गरेको हो ।





