काठमाडाैं । आइतबार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । चुनावको चहलपहल भएसँगै नेप्सेले सकारात्मक गति लिएको हो ।
अघिल्लो बिहीबार ९.२३ अंकले सुधारिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज आइतबार ५७.५५ अंकको छलाङ आएको हो । यस वृद्धिसँगै समग्र बजार परिसूचक २.१२ प्रतिशतले बढेर २७७२.१७ विन्दुमा अडिएको छ ।
समूहगत आधारमा हेर्दा आज सबै क्षेत्रको सूचक सकारात्मक रहे पनि होटल तथा पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानीकर्ताको विशेष आकर्षण देखियो । आज होटल तथा पर्यटन समूह ३.३५ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन २.९७, लगानी २.८४ र हाइड्रोपावर समूह २.७४ प्रतिशतले वृद्धि भएको छ । समग्रमा बजारका अधिकांश उप-समूहहरू आज हरियाली बनेका छन् ।
आज कुल २४० कम्पनीको सेयर मूल्य उकालो लाग्दा ८ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । सर्किट लाग्नेहरूमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केवलकार, हिमस्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युत रहेका छन् ।
बजार परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी भएको छ । दिनभरि ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १३ अर्ब ७७ करोड ५७ लाख २९ हजार रुपैयाँमा किनबेच भएका छन् । यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा झण्डै ४ अर्ब ७० करोडले बढी हो, जहाँ ९ अर्ब ७ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।





