काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर २६ सय ८१ दशमलव ५० विन्दुमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा १.६४ अंकले ओरालो लागेको बजारमा आज १३ मध्ये ७ वटा उपसमूहको सूचक सकारात्मक रहे भने ६ वटाको सूचकमा गिरावट देखियो।
यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ०.९३ प्रतिशतले वृद्धि भएको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहमा पनि सामान्य सुधार आएको छ।
परिसूचकसँगै आज कारोबार रकममा पनि केही संकुचन आएको छ। दिनभर भएका ८० हजार ४२२ कारोबारमार्फत ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कुल ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यो अघिल्लो दिन भएको ८ अर्ब ६३ करोड रुपैयाँको कारोबारभन्दा कम हो। समग्र बजार घटे पनि चारवटा कम्पनीहरु कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युतको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ।




