काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम राख्न निर्वाचन आयोग र सामाजिक सञ्जाल ‘टिकटक’ बीच समझदारी भएको छ।
निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने भ्रामक र मिथ्या प्रचारप्रसारलाई नियन्त्रण गर्ने उद्देश्यले यी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
आयोगमा आयोजित एक विशेष कार्यक्रममा सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले उक्त सम्झौतामा हस्ताक्षर गरे।
सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, तथा आयोगका सचिव कृष्ण बहादुर राउत लगायतका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
निर्वाचन नजिकिँदै गर्दा डिजिटल प्लेटफर्महरूमा मिथ्या सूचना र गलत प्रचारबाजी बढ्ने जोखिमलाई ध्यान दिँदै आयोगले यस्ता गतिविधि रोक्न र स्वच्छ निर्वाचन वातावरण प्रवर्द्धन गर्न टिकटकसँग सहकार्य गर्ने निर्णय लिएको हो।




