काठमाडौँ । सन् २०२६ को मार्च महिनामा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्कअनुसार यस महिना दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट हुने आगमनमा उल्लेख्य सुधार देखिएको छ।
तथ्याङ्कअनुसार कुल आगमनको ३५.४ प्रतिशत अर्थात् ४२ हजार ६६८ पर्यटक सार्क मुलुकबाट आएका छन्। यसमा भारतबाट सबैभन्दा बढी २५ हजार ७२८, श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ जना रहेका छन्। छिमेकी मुलुक भारतबाट भएको यो उच्च आगमनले नेपालमा धार्मिक र सांस्कृतिक पर्यटनको आकर्षण कायमै रहेको पुष्टि गर्दछ।
चीनसहितका अन्य एसियाली मुलुकबाट पनि पर्यटकको संख्या उत्साहजनक छ। चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८९७ जना पर्यटक भित्रिएका छन्। समग्रमा अन्य एसियाली क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक आउँदा यसको हिस्सा कुल आगमनमा २७.७ प्रतिशत रहेको छ।
युरोप र अमेरिकाजस्ता परम्परागत बजारबाट हुने आगमन भने यस पटक स्थिर देखिएको छ। पश्चिम एसियामा जारी युद्धका कारण ती क्षेत्रबाट हुने उडान प्रभावित हुनु र सम्बन्धित देशहरूले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ ले गर्दा अपेक्षित वृद्धि हुन नसकेको बोर्डको विश्लेषण छ। यद्यपि, यी क्षेत्रबाट आउने पर्यटकहरू उच्च खर्च गर्ने वर्गमा पर्ने भएकाले नेपालको पर्यटन आयमा उनीहरूको योगदान महत्वपूर्ण मानिन्छ।
यस वर्षको मार्चको तुलनामा सन् २०२५ को मार्चमा १ लाख २१ हजार ६८७ र कोभिड अघिको सोही महिनामा १ लाख २७ हजार ३५१ पर्यटक आएका थिए। तर, सन् २०२६ को फेब्रुअरीको तुलनामा भने मार्चको आगमनमा करिब १५ हजारले वृद्धि भएको छ। फेब्रुअरीमा १ लाख ५ हजार ४४१ पर्यटक नेपाल आएका थिए।
वसन्त ऋतुको यो समय ट्रेकिङ र हिमाल आरोहणका लागि मुख्य सिजन भए पनि वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडानमा देखिएको समस्याले यस वर्ष केही असर पुर्याएको छ। बोर्डले हालको परिस्थिति अनिश्चित रहेकाले आगामी दिनमा वैकल्पिक बजार विस्तार र सन्तुलित रणनीतिमा जोड दिने योजना बनाएको छ।




