धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन: डा. गुणाकर भट्टको संयोजकत्वमा ३ सदस्यीय टोली

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्यका रूपमा रहनुभएको छ। लामो समयदेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डमा योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्ने जिम्मेवारी यस समितिलाई सुम्पिएको छ।

समितिले अब बोर्डको अध्यक्षका लागि इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गर्नेछ। प्राप्त आवेदनहरूमध्येबाट व्यावसायिक कार्ययोजना र प्रस्तुतीकरणका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ। सिफारिस गरिएका तीन नाममध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले बोर्डको आगामी अध्यक्षका रूपमा नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ। डा. भट्ट हालै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएको हो भने डा. उपाध्याय र दाहाल दुवै आर्थिक तथा बैंकिङ क्षेत्रका विज्ञ व्यक्तित्व मानिनुहुन्छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा