सुर्खेत । गत आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशबाट करिब चार अर्ब रुपैयाँ बराबरको कृषि तथा पशुजन्य उपज प्रदेश बाहिर निर्यात भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको तथ्याङ्कअनुसार कृषिजन्य उपजबाट ३ अर्ब ६४ करोड ६ लाख र पशुजन्य उपजबाट २८ करोड ७३ लाख गरी कुल झन्डै ३ अर्ब ९३ करोड रुपैयाँ आम्दानी भएको हो।
मन्त्रालयका अनुसार खाद्यान्न, दलहन, फलफूल, अदुवा, बेसार, आलु, मह र च्याउसहित कुल ७७ हजार ४९५ मेट्रिक टन कृषि सामग्री निर्यात गरिएको छ। यद्यपि, उत्पादन निर्यात उत्साहजनक रहे पनि दुध, मासु, माछा, अण्डा र दानालगायतका वस्तुको आयातमा भने कर्णालीबाट ९५ करोड ११ लाख रुपैयाँ बाहिरिएको छ। मन्त्रालयले फलफूल बगैँचा विस्तार, ब्याज अनुदान तथा दुग्ध किसानलाई प्रोत्साहन रकम वितरण गरे पनि बजेट कार्यान्वयन र वित्तीय प्रगति भने कमजोर देखिएको छ।
गत आर्थिक वर्षमा मन्त्रालयलाई विनियोजित २ अर्ब ५७ करोड ११ लाख रुपैयाँमध्ये १ अर्ब ४७ करोड रुपैयाँ मात्र खर्च भई वित्तीय प्रगति ५७ प्रतिशतमा सीमित भएको छ। वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले परम्परागत निर्वाहमुखी खेती प्रणालीमा सुधार गरी कर्णालीलाई विषादीमुक्त र जैविक खेतीमार्फत नमुना तथा आत्मनिर्भर प्रदेश बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि कृषि उत्पादनमा लगाउँदै आएको कर खारेज गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईँले जानकारी दिएका छन्।





