धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी कर्मचारी घाइते भएका छन्। घाइते हुनेहरूमा इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउद रहेका छन्। उनीहरूको हाल सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायरसमेत गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार दुई समूहबीच आपसी झगडा भएपछि झडपको स्थिति सिर्जना भएको थियो। प्रहरीले घटनामा संलग्न १२ जनालाई पक्राउ गरेको छ। झडपका क्रममा केही सर्वसाधारण समेत घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनमा सामान्य क्षति पुगेको छ।
घटनास्थलमा थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ। झडपको मुख्य कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





