भोलि देखि काठमाण्डौमा नयाँ नियम लागुहुदै, प्रसासन, प्रहरीले निकाल्यो आज यस्तो सूचना !
काठमाडौंमा सवारी साधन चलाउँदा भोलि (आइतबार)देखि ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।
त्यस्तै, खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निमाण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् । औषधि र खानेपानीको सवारी साधानको हकमा भने टाइम कार्ड लागू हुने छैन ।यस्तै बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ । ‘एक तिहाइ मात्र कर्मचारी जाने भनिएको छ । त्यसैले दिउँसोको समयमा सामान्यतया आवत जावत नगरौं भनेर समय तोकिएको हो’ ढकालले भने।
त्यस्तै मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालय सन्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अधिकांश कर्मचारीहरु घरमै बसिरहेका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।