काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा बिहीबार सांसदहरूका १५ प्रश्न सामना गर्दै छन् । पूर्वमाओवादी लडाकुको खर्च, वाइडबडी विमान, ललिता निवासदेखि भुटानी शरणार्थी प्रकरणसम्मका विषयमा सांसदहरूले प्रधानमन्त्री दाहाललाई प्रश्न गर्न लागेका हुन् ।
संसद् सचिवालयका अनुसार कांग्रेस र एमालेबाट ३/३ जनाले प्रश्न गर्न पाउनेछन् । माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टीका १/१ जनाले प्रश्न गर्नेछन् । एक सांसद रहेका राष्ट्रिय जनमोर्चा, नेमकिपा, आम जनता पार्टी र दुई स्वतन्त्र सांसदमध्येबाट १ जनाले बोल्नुपर्ने सचिवालयको प्रस्ताव छ । एक सांसद रहेका दल र स्वतन्त्रमध्ये कसले प्रश्न गर्ने भन्ने टुंगो लागेको छैन । ‘पाँच जनाको नाम आएको छ, सबैले बोल्न पाउनुपर्ने उनीहरूको माग छ । गोला तान्ने कि भन्दा पनि सहमति जुट्न सकेको छैन,’ सचिवालयका एक अधिकारीले भने ।




