चितवनको माडीमा चक्रशिला स्थापना

चितवन– चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ  ।

१२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताए ।

उक्त शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताए । उनले पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको बताए ।

शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा थप टेवा पुग्ने स्थानीय पुजारी केदारनाथ सापकोटाले बताए । उनका अनुसार कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उनले चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताए ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा