हमासले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा शनिबार राति इजरायली र विदेशी बन्धकहरूको दोस्रो समूहलाई रिहा गरेको इजरायली अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका छन् । एक घण्टा लामो ढिलाइले गाजामा अस्थायी युद्धविराम भंग हुन सक्ने डर समेत पैदा गरेको थियो ।
हमासले १३ इजरायलीसँगै चार थाई नागरिकलाई रिहा गरेपनि नेपाली बन्धक विपिन जोशीलाई भने रिहा गरेको छैन ।कतारको पहलमा इजिप्टको पनि सहयोगमा भएको मध्यस्थताले इजरायल र हमासबीचको गरिरोध हट्न सफल भएको बताइएको छ ।
इजरायलका अनुसार शनिबार हमासले १३ जना इजरायली- आठ बालबालिका र पाँच महिलालाई गाजामा रेड क्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेको थियो। उनीहरूलाई राफा क्रसिङ पार गरेर इजिप्ट लगिएको थियो ।त्यसपछि त्यहाँबाट भने इजरायल लगियो ।
उनीहरू सबैलाई अस्पतालमा लगिएको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलीसँगै चार थाई नागरिक पनि रिहा भएका छन् ।हमासले बन्धकलाई रिहा गरेको केही समयमा नै इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले रिहा गरेको इजरायलको जेलसेवाले आइतबार बिहान जनाएको छ। शुक्रबार पनि यस्तै फेरबदल भएको थियो ।
प्यालेस्टाइनी प्राधिकरणको बन्दी मामिला आयोगले पुष्टि गरे अनुसार इजरायलले छाडेका बन्दीहरू रेडक्रसका बसमा अल-बिरेह लगेर छोडिएको थियो ।
