काठमाडाैं। अमेरिकाको एक संघीय अदालतले ट्रम्प प्रशासनलाई एक कलेज छात्रालाई गलत तरिकाले देशनिकाला गरेकोमा ‘गल्ती सच्याउन’ तीन हप्ताको समयसीमा दिएको छ।
१९ वर्षीया छात्रा एनी लुसिया लोपेज बेलोजालाई थ्यांक्सगिभिङ बिदामा घर जाँदै गर्दा पक्राउ गरी होन्डुरस पठाइएको थियो।
बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश रिचर्ड स्टर्न्सले शुक्रबार उक्त कदमलाई “दुर्भाग्यपूर्ण र रोक्न सकिने गल्ती” भन्दै सरकारलाई उनलाई विद्यार्थी भिसा जारी गर्न सिफारिस गरेका छन्।
छात्रालाई देशनिकाला नगर्न अदालतले पहिले नै रोक लगाएको थियो। तर, सरकारी अधिकारीहरूले उक्त आदेशको उल्लंघन गर्दै उनलाई होन्डुरस पठाएका थिए। यसअघि प्रशासनका वकिलले अदालतमा यस गल्तीका लागि माफी मागिसकेका छन्।
न्यायाधीश स्टर्न्सले २१ दिनभित्र समस्याको समाधान खोज्न सरकारलाई निर्देशन दिएका छन्। यदि सरकारले उनलाई फिर्ता ल्याउने व्यवस्था नगरेमा, सरकारलाई ‘अदालतको अवहेलना’ मुद्दा चलाउने चेतावनी दिइएको छ।
लोपेज बेलोजा ८ वर्षको उमेरमा आफ्नी आमासँग शरणार्थीका रूपमा अमेरिका आएकी थिइन्। उनी म्यासाचुसेट्सको ‘ब्याब्सन कलेज’ मा प्रथम वर्षकी छात्रा हुन्। नोभेम्बर २० मा बोस्टन एयरपोर्टबाट टेक्ससस्थित आफ्नो घर जान लाग्दा उनलाई पक्राउ गरिएको थियो।
सरकारी पक्षले अध्यागमन अधिकारीको प्राविधिक त्रुटिका कारण यस्तो भएको दाबी गरेको छ। न्यायाधीशले लोपेज बेलोजा हाल अमेरिका बाहिर रहेकाले उनको समग्र मुद्दा सुन्ने क्षेत्राधिकार आफूसँग नभए पनि, अदालतको आदेश उल्लंघन भएकोले सरकारले त्यसलाई सच्याउनै पर्ने बताएका छन्।
छात्राका वकिल टोड पोमरलेउले अदालतको यो निर्णयको स्वागत गर्दै उनलाई चाँडै अमेरिका फर्काउन सरकारसँग वार्ता गर्ने बताएका छन्।








