काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो। यसअघि सोमबार पनि सुनको भाउमा उच्च गिरावट आएको थियो।
बजारमा उतारचढावका बीच आइतबार तोलामा २ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने एकैदिन ३ हजार रुपैयाँले घटेको थियो। पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्य प्रतितोला ३ हजार ९०० रुपैयाँले घटिसकेको छ।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य ओरालो लागे पनि मंगलबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रुपैयाँले बढेर ४ हजार ८८५ रुपैयाँ पुगेको छ।





