भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगले सुम्पेको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सफलतापूर्वक पूरा गरेको हो।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार अबको १० दिनभित्र देशका सबै जिल्लामा मतपत्र पुर्याइसक्ने लक्ष्य राखिएको छ। सोमबार साँझसम्म प्रत्यक्षतर्फको कुल २ करोड ३ लाख मतपत्र छपाइ सकिएको र मंगलबारदेखि तिनको ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेशहरूमा ढुवानी सुरु गरिने उनले जानकारी दिए।
आयोगले ४२ दिनको कार्यतालिका तोकेको भए तापनि केन्द्रले निर्धारित समयभन्दा दुई दिन अगावै अर्थात् ४० दिनमै छपाइको काम सम्पन्न गरेको छ। केन्द्रले दैनिक १३ लाखदेखि १५ लाखको संख्यामा मतपत्रहरू छाप्दै आएको थियो।
यसैबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य क्षेत्रका लागि पनि ढुवानी प्रक्रिया तीव्र पारिएको छ। यसअघि नै १० लाख नमुना मतपत्र छपाइ गरी आयोगले विभिन्न स्थानमा पुर्याइसकेको छ भने २ करोड ८ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लाहरूमा पठाउने काम जारी रहेको केन्द्रले जनाएको छ।





