रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि न्युज २४ का संवाददाता कृष्णबाबुको मृत्यु भएको हो ।बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दुर्घटनाग्रस्त भएकाे जनाइएकाे छ ।
दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित चौराहा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।कार सडक किरानाको फलामे बारमा ठोक्किएकाे बताइएकाे छ । टिभी जर्नलिष्ट पाण्डेको शव अहिले पाेस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
३० वर्षीय पाण्डे विगत ५ वर्षदेखि न्यूज २४ मा कार्यरत थिए । हाल प्रदेश ५ को व्युरोको जिम्मेवारी पनि सम्हालिरहेका पाण्डेको असfमयिक निधनप्रति न्यूज २४ परिवार मर्माहत बनेको समाचार उसले आफ्नो अनलाइन मिडियामा पनि लेखेको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए ।