एमाले अध्यक्ष पद नछाड्ने ओलीको निष्कर्ष : ‘संकटको बेला मैदान छाडेर भाग्दिनँ’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठिरहेको नेतृत्व परिवर्तन र पुनर्गठनको मागलाई ठाडै अस्वीकार गर्दै आफूले अध्यक्ष पद नछाड्ने स्पष्ट पारेका छन् । सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले संकटको समयमा पार्टीलाई नेतृत्वविहीन बनाएर आफू कुनै पनि हालतमा मैदान छाडी नभाग्ने उद्घोष गरे । चुनावी परिणामपछि नैतिक जिम्मेवारीको नाममा संगठनलाई अलपत्र पारेर हिँड्न नसकिने उनको अडान छ ।

प्रस्तुत प्रतिवेदनमा आफूमाथि भइरहेका चौतर्फी आलोचना र घेराबन्दीको चर्चा गर्दै ओलीले नीति, कार्यशैली र निर्णय प्रक्रियामा पार्टीभित्र रचनात्मक सुझाव सुन्न सधैँ तयार रहेको बताएका छन् । तर आलोचनाका नाममा स्वास्थ्य, उमेर र विगतको संघर्षलाई जोडेर विपक्षीले चलाएको चरित्रहत्याको भाषा पार्टीभित्र भित्र्याउन खोजिएको भन्दै उनले कडा आपत्ति जनाए । अध्यक्ष विस्थापित गर्ने मनसायले यतिबेला ‘बेमौसमी बाजा’ बजाइएको दाबी गर्दै उनले आफू पदको व्यक्तिगत प्रतिष्ठाका लागि नभई पार्टीको मनोबल, संगठनात्मक स्थिरता र सुरक्षित राजनीतिक संक्रमणका लागि दृढतापूर्वक उभिएको प्रष्ट पारे ।

यसैगरी नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई व्याख्या गर्दै अध्यक्ष ओलीले बिना संस्थागत तयारी गरिने हतारोको पद त्यागले पार्टीमा गम्भीर रिक्तता पैदा गर्ने चेतावनी दिएका छन् । पुरानो रूखमा नयाँ पालुवा हुर्काउन जरा नकाटिने दृष्टान्त दिँदै उनले उमेर कम हुनु आफैँमा योग्यता र बढी हुनु अयोग्यता नहुने तर्क गरे । एमालेको गौरवपूर्ण इतिहास जरा र नयाँ पुस्ता पालुवा भएको उल्लेख गर्दै ओलीले अनुभव र ऊर्जाको समुचित संयोजनबाट मात्र पार्टी गतिशील बन्ने निष्कर्षसहित तत्काल नेतृत्व छाड्ने सबै सम्भावनालाई पूर्ण रूपमा खारेज गरिदिएका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा