भारी वर्षाको सम्भावनाबिच कांग्रेस अधिवेशनमा सतर्कता अपनाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन

काठमाडौँ । आगामी केही दिन देशभर भारी वर्षाको सम्भावना देखिएपछि नेपाली कांग्रेसले पार्टीका विभिन्न तहका अधिवेशनहरू सञ्चालन गर्दा मौसमको अवस्थाप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त पूर्वसूचना अनुसार असोज ८ देखि १२ गतेसम्म मुलुकभर भारी वर्षा हुन सक्ने आकलन गरिएकाले अधिवेशन प्रक्रियामा कुनै अवरोध वा क्षति नपुगोस् भनी पार्टीले यस्तो सतर्कता अपनाउन परिपत्र जारी गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य-सचिव राजु कटुवालद्वारा जारी प्रेस विज्ञप्तिमा सम्बन्धित निर्वाचन अधिकृतहरूलाई आफ्नो मातहतका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशनहरू मौसमको अवस्था हेरेर अनुकूल समय मिलाई अघि बढाउन आग्रह गरिएको छ । प्रतिकूल मौसमका कारण अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई आवतजावतमा कठिनाइ हुनसक्ने भन्दै स्थानीय स्तरमा पर्याप्त समन्वय गरेर मात्र निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यसैबीच, कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनहरू उत्साहजनक रूपमा अघि बढिरहेका छन् । असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा तय भएको केन्द्रीय महाधिवेशनका लागि असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ । बाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन प्रक्रिया सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा