काठमाडौँ । नेपाली कांग्रेसभित्र समानान्तर महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर समूहले देशभरका ५५ जिल्लामा संयोजक तोकेको छ । पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको सो समूहले जिल्ला तहमा समानान्तर गतिविधि सञ्चालन गर्न संयोजकहरूको जिम्मेवारी बाँडफाँट गरेको हो । संयोजक तोकिएका नेताहरूलाई डा. कोइरालाले नै हस्ताक्षर गरी आधिकारिक जिम्मेवारी पत्र वितरण गरिरहेका छन् ।
देउवा समूहका नेता एनपी साउदका अनुसार आगामी असोज १५ गते वडा तहको अधिवेशन सम्पन्न गरी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने निर्णय अनुसार संगठन विस्तार गरिएको हो । समूहले कोशी प्रदेशका ८, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तथा केही जिल्लामा सहसंयोजक तोकेको छ । मधेस प्रदेशका जिल्लाहरूमा भने आन्तरिक परामर्श जारी रहेकाले हालसम्म संयोजक तोकिएको छैन ।
संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेका बेला देउवा समूहले समानान्तर रूपमा जिल्ला संयोजकहरू तोकेपछि कांग्रेसभित्रको आन्तरिक विवाद र ध्रुवीकरण थप उत्कर्षमा पुगेको छ । जिल्ला संयोजकहरूले आफ्नो कार्यक्षेत्रमा वडा, पालिका र क्षेत्रस्तरमा समानान्तर संरचना निर्माण तथा निर्वाचन प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएका छन् ।





