नेपाली कांग्रेसद्वारा १५औँ महाधिवेशनको लोगो सार्वजनिक, बीपीदेखि देउवासम्मका नेताहरूको तस्बिर समावेश

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको लोगोमा पार्टीका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालादेखि पार्टी सभापति शेरबहादुर देउवासम्मका शीर्ष नेताहरूको तस्बिरलाई सम्मानपूर्वक संयोजन गरिएको छ।

सार्वजनिक गरिएको लोगोमा ‘१५’ अङ्कको अगाडिको ‘१’ भित्र ऐतिहासिक तथा वर्तमान नेतृत्वका तस्बिरहरू समेटिएका छन्। जसमा बीपी कोइराला, सुवर्णशमशेर जबरा, सर्वमान्य नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको तस्बिर तथा राष्ट्रिय झन्डाको प्रतीक चन्द्र-सूर्य अङ्कित गरिएको छ। कांग्रेसले यसपटक महाधिवेशनको मूल नारा ‘गौरव, गति र गन्तव्य’ तय गरेको छ।

त्यस्तै, महाधिवेशनको स्लोगनका रूपमा ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ तय गरिएको छ। पार्टीको इतिहास, गौरवमय योगदान र भावी रूपान्तरणको सन्देश दिने गरी तयार पारिएको लोगो सार्वजनिक भएसँगै महाधिवेशनको चुनावी माहोल थप तातेको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा