घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी अन्दाजी ४३ वर्षीय श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका हुन् । घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइत गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्लाबाट लडेर घिमिरेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । ‘उहाँको शव घरको दोस्रो तल्लाको शौचालय मुनि आँगनमा फेला परेको हो,’ डिएसपी रिजालले भन्नुभयो, ‘शौचालय जान खोज्दा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।’घिमिरेको कोठाको प्रकृति हेर्दा राति उनले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ । मदिरा सेवन गर्दै गर्दा शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने डिएसपी रिजालले बताउनुभयो ।
‘उहाँको शरीरमा अन्त कतै चोटपटक छैन, गाला धस्सिएको छ र नाक, मुखबाट रगत आएको अवस्थामा शव फेला परेको छ,’ रिजालले भने ‘शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ ।’पोष्टमार्टम रिपोर्टपछि थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।