काठमाडौं, ९ जेठ । कोरोना संक्रमितको वृद्धिसंगै फिल्डमा खटेर काम गर्ने सञ्चारकर्मीलाई पनि संक्रमण बढ्दै गएको छ । कपिलबस्तुमा आज फेला परेका संक्रमित मध्य २ जना सञ्चारकर्मी रहेको बताइएको छ । कपिलबस्तुमा शुक्रवार ९ जना थप नयाँ कोरोना संक्रमित फेला परेका हुन् । नेपालमा पनि दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर संक्रमितको संख्या ४८७ पुगेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ती ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितहरु नवलपरासी (वर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुष, भरत महानगरपालिका–६ केसरवाघ, चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन्।
त्यसैगरी नवलरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ र १८ का ९ जना सर्लाही गोडैता नगरपालिकाका ५ जना, रामनगर बहुअर्वा गाउँपालिका–७ का १५ जना छन्। यसरी संक्रमित हुनेमा ८ वर्षीय बालकदेखि ७४ वर्षसम्मका छन्। यीमध्ये अधिकांश युवाहरु छन्।