काठमाडौँ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधिहरू उत्पादन गर्ने तयारी तीव्र पारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र लिमिटेडबिच स्वदेशी औषधि उत्पादनलाई प्रोत्साहन गर्दै आपूर्ति व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यका साथ यससम्बन्धी द्विपक्षीय समझदारी प्रक्रिया अगाडि बढाइएको हो। हाल लिमिटेडले ११ प्रकारका मात्र अत्यावश्यक औषधि उत्पादन गर्दै आएकोमा अब यसको दायरालाई व्यापक रूपमा विस्तार गर्न लागिएको छ।
नयाँ कार्ययोजनाअनुसार आगामी चरणमा उच्च रक्तचाप, मधुमेहजस्ता समाजमा ब्यापक रहेका दीर्घरोगका औषधिहरू समेत स्वदेशमै उत्पादन गरिनेछ। यसका लागि आवश्यक प्राविधिक तयारी, अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण र उत्पादन अनुमतिको प्रक्रियालाई द्रुत गतिमा अघि बढाइने मन्त्रालयले जनाएको छ। सरकारी स्वास्थ्य संस्थाहरूमा आवश्यक पर्ने अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकता दिने नीति सरकारले अवलम्बन गर्ने भएको छ।
यो समझदारी पूर्ण रूपमा कार्यान्वयनमा आएसँगै सरकारी खरिद प्रक्रिया थप व्यवस्थित र नियमित हुने विश्वास लिइएको छ। मन्त्रालय र नेपाल औषधि लिमिटेडबिच सहज र संस्थागत प्रणालीमार्फत औषधि खरिद हुने भएकाले उत्पादित औषधिको सुनिश्चित उपयोग हुनुका साथै बजार विस्तारमा समेत ठुलो मद्दत पुग्नेछ। लिमिटेडबाट उत्पादित सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप शतप्रतिशत सुनिश्चित गरिने मन्त्रालयको भनाइ छ।
यस ऐतिहासिक पहलले स्वदेशी औषधि उद्योगहरूको प्रवर्द्धन मात्र गर्ने नभई औषधि क्षेत्रमा देशलाई आत्मनिर्भरतातर्फ डोर्याउने लक्ष्य राखेको छ। विदेशी आयातमा रहेको अत्यधिक निर्भरतालाई न्यूनीकरण गर्दै आम नागरिकलाई गुणस्तरीय, भरपर्दो र सुलभ मूल्यमा अत्यावश्यक औषधिहरू नियमित रूपमा उपलब्ध गराउने सरकारको दीर्घकालीन रणनीतिलाई यस कदमले थप बल पुर्याउने अपेक्षा गरिएको छ।




