काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको इतिहासमा भएका ठूल्ठूला हत्याकाण्डको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले विगतमा भएका घटना बिर्साउने प्रयास भइरहेको पनि बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले गरेको प्रश्नको जवाफमा विगतमा भएका बीभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका हुन् ।
यी विषयमा सबैले परामर्श गर्नुपर्ने पनि दाहालको भनाइ थियो । ती विषयमा सबैले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्ने प्रधानमन्त्रीले बताए । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो ।
दरबार हत्यकाण्ड २०५८ जेठ १९ मा भएको थियो । दरबार हत्यकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाहलगायतको हत्या भएको थियो । राजा वीरेन्द्रको पूरै परिवारको हत्या भएपछि उनका भाइ ज्ञानेन्द्र शाह राजा भएका थिए ।
रौतहटको गौरमा २०६३ चैत ७ मा घटना भएको थियो । तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकैदिन रौतहटको गौर नगरपालिका-५ स्थित राइस मिल्सको चौरमा आमसभा आयोजना गरेका थिए । सोही क्रममा २७ जनाको हत्या भएको थियो ।
