काठमाडौँ । मुलुकभर मनसुनी वायुको सक्रिय प्रभाव कायमै रहँदा आज (बिहीबार) देशका अधिकांश भू-भागमा बदली रही मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ‘धेरै भारी’ वर्षा हुनुका साथै तराईका भू-भागमा हावाहुरीको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थान र मधेशसहित यी प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकीका थोरै स्थान तथा मधेश र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना छ। मधेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीसमेत चल्नसक्नेछ।
यसैगरी आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली, पहाडी तथा तराई भेगका धेरै स्थानमा मध्यम वर्षा जारी रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विशेष गरी कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको छ। साथै, मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको जोखिम रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा डुबानबाट जोगिन उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





