काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहास रचेको बताएका छन्।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा थापाले स्वास्थ्यमन्त्रीको रूपमा गरेको सहकार्य र कार्यक्षमताको स्मरण गर्दै उनीमाथि देशकै नेतृत्व गर्ने क्षमता रहेको बताए। उनले संविधानको रक्षा, लोकतान्त्रिक मूल्यमान्यताको संस्थागत विकास तथा शान्ति प्रक्रियाका बाँकी कामहरू समयमै टुंग्याउन प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य र राष्ट्रिय सहमति अपरिहार्य रहेको औँल्याए।
मुलुकमा देखिएका राजनीतिक र आर्थिक चुनौतीहरूको सामना गर्दै देशलाई समृद्धिको दिशामा अघि बढाउन कांग्रेसको नयाँ नेतृत्व सफल हुने विश्वास उनले व्यक्त गरे। शान्ति सम्झौताका अधुरा कामहरू पूरा नगरिए देश फेरि द्वन्द्वमा जान सक्ने खतरा औँल्याउँदै प्रचण्डले नयाँ नेतृत्वले यी विषयहरूलाई प्राथमिकताका साथ हल गर्नुपर्ने बताए र देशको आगामी नेतृत्वका लागि गगन थापालाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।





