रोमाञ्चक खेलमा ओमानलाई १० रनले हराउँदै नेपाल विजयी, ओडीआई मान्यता जोगिने सम्भावना बलियो

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ । सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र जोड्न सक्यो ।

ओमानका लागि जतिन्दर सिंहले ८९ रन र हम्माद मिर्जाले ८७ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए । तर, खेलको अन्तिम ओभरहरूमा नेपाली बलरहरूले कसिलो बलिङ गर्दै खेल आफ्नो पक्षमा पारे । बलिङतर्फ नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २८० रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको कप्तानी इनिङ्स खेले भने दीपेन्द्रसिंह ऐरीले ६९ रन र देव खनालले ५७ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । ओमानका शाह फैसलले ५ विकेट लिएका थिए ।

यस महत्त्वपूर्ण जितसँगै नेपाल लिग–२ को अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा नेपालले ३६ खेलबाट १४ जितसहित ३० अङ्क जोडेको छ । यस जितले नेपालको एकदिवसीय (ओडीआई) अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने सम्भावनालाई निकै बलियो बनाएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा